नेकपा एमालेभित्र अहिले महाधिवेशनपूर्वको सबैभन्दा ठूलो बहस नेतृत्व परिवर्तनको हो । लामो समयदेखि केपी शर्मा ओलीको पूर्ण नियन्त्रणमा चलेको एमाले आज नेतृत्व संक्रमणको मोडमा उभिएको छ । तर राजनीतिक वृत्तमा जसरी भनिन्छ ‘साँपनाथ हटाएर नागनाथ ल्याए पनि एमालेभित्र केही बदलिँदैन ।’ त्यसको सार अहिले झनै बलियो हुँदै गएको छ । धेरैले अनुमान गरेका थिए कि ओलीनिकट मानिने ईश्वर पोखरेल नै एमालेका भावी अध्यक्ष बन्ने सम्भावित नाम हो । तर एमाले भित्रको पछिल्लो शक्ति रसायन हेर्दा यो चित्र बदलिँदै गएको छ । आज एमाले भित्रको आन्तरिक समीकरणमा ईश्वर पोखरेल ओलीका आफ्नै रोजाइको उत्तराधिकारी मात्रै होइनन्, बरु उनीहरूबीचको सम्बन्ध पनि पहिले जस्तो मजबुत रहन छोडिसकेको छ । बरु एमाले भित्रको वास्तविक शक्ति गणित बिस्तारै यसतर्फ संकेत गर्दैछ कि ओली स्वयम् आफैंलाई अध्यक्षको रुपमा अगाडि ल्याउन खोजिरहेका छन् र एमालेको नेतृत्व यसको अन्तिम मोडमा उनीकै पक्षमा झुक्दै जान सक्छ ।

नेपालको राजनीतिक इतिहासमा एमाले जति एक व्यक्तिको मनोविज्ञानमा आधारित भएर चलेको पार्टी कमै छ । गत १५ वर्षको एमाले राजनीतिलाई नियाल्ने हो भने नीति, संगठन, नियुक्ति, क्याडर व्यवस्थापन, संसदीय लाइन, राष्ट्रिय रणनीति सबै ओली केन्द्रित रहे । यस्तो संरचनामा नेतृत्व हस्तान्तरण संस्थागत उत्तराधिकारी होइन, व्यक्तिगत रोजाइको परिणाम बन्ने गर्छ । यसैले एमालेमा वैचारिक, नीतिगत वा पुस्तागत नेतृत्व उदाउने वातावरण जन्मिन सकेको छैन । उमेर, योग्यता, दृष्टि, क्षमता केही पनि निर्णायक हुँदैन । ओलीको भरोसा र निकटता मात्रै निर्णायक बन्छ । यही कारणले एमाले भित्र धेरै तेस्रो पुस्ताका, आधुनिक सोच भएका, राष्ट्रव्यापी प्रभाव राख्ने सम्भावित नेताहरू दशकौ भरि उभिनै पाएनन् ।

ईश्वर पोखरेल एमालेभित्र अनुभवी र अनुशासित मानिन्छन् । तर एमाले भित्रका अन्तरविरोधले अहिले उनी ओलीकै निरन्तरता, ओलीकै प्रत्यक्ष प्रभावको विस्तार, ओलीकै छायामा रहने व्यक्ति जस्ता देखिन्छ । पछिल्ला वर्षहरूमा संगठनात्मक निर्णयदेखि संसदीय रणनीतिसम्मका धेरै प्रसङ्गमा ईश्वर र ओलीबीचको दूरी देखिएको एमालेका नेताहरू खुला रूपमा स्वीकार्न थालेका छन् । एमालेको शक्ति संरचनामा उनी अब ओलीले ईच्छाएको स्वभाविक उत्तराधिकारी होइनन् ।

बरु ओलीले आफ्नो सुरक्षित नियन्त्रण कायम राख्न सक्ने, राजनीतिक रूपमा आफूलाई चुनौति नदिने र एमाले भित्र अनुग्रहमा आधारित शक्तिचक्र निरन्तर मजबूत बनाइदिने व्यक्तिको खोजी गरिरहेका छन् । एमालेको केन्द्रीय वृत्तमा अहिले चर्चाको केन्द्रमा उभिएका छन् विद्या भण्डारी । उनी संगठनमा सक्रिय, ओली परिवारसँग निकट र पार्टीभित्रको उच्च निर्णय तहमा बढ्दो प्रभाव राख्ने नेताको रूपमा उदाउँदै गएकी छन् । एमाले भित्र धेरैले भन्छन् ओलीका वास्तविक राजनीतिक उत्तराधिकारी अहिले ईश्वर होइनन्, विद्या हुन् ।

अर्कोतर्फ एमालेलाई अहिले आवश्यक थियो तेस्रो पुस्ताको उदीयमान, नयाँ सोच, डिजिटल शासन, युवा प्राथमिकता, पारदर्शिता, रोजगारी, प्रविधि आधारित राजनीतिक दृष्टिकोण यो पुस्ताको कन्भिन्सिङ मुद्दा हो । एमालेका ६० प्रतिशत भन्दा बढी मतदाता ४० वर्षभन्दा कम उमेरका छन् । उनीहरूले खोजेको नेतृत्व पुरानो शैली, पुरानो सोच र पुरानो शक्तिचक्र होइन । तर एमाले बारम्बार त्यही पुरानै संरचनाको परिक्रमा गरिरहेछ अनुग्रहबाट उठेका अनुहारहरू, बादविवाद भन्दा इमान्दार, नवप्रवर्तन भन्दा वरियताक्रम एमाले भित्र संस्थागत कडाइ यस्तो छ कि नयाँ पुस्ताले तयारी गरे पनि शीर्ष नेतृत्वतिर सुरुङ्ग नै बन्द देखिन्छ ।

यही कारणले एमाले भित्रको नेतृत्व संक्रमण अहिले सांकेतिक भन्दा सत्य नदेखिएको हो । चाहे ईश्वर पोखरेल आए, चाहे विद्या भण्डारी आए उनीहरूमा वैचारिक, संगठनात्मक, व्यवहारमा परिवर्तन ल्याउने क्षमता उति देखिँदैन । एमाले नेतृत्व परिवर्तनलाई अहिले पनि ओली केन्द्रित मानसिकता, ओली निर्धारित रुचि र ओली–निर्मित शक्ति–सन्तुलन नै सञ्चालन गरिरहेको छ । यदि नेतृत्व विद्या भण्डारीतिर गयो भने एमालेमा केही श्रृंगारिक सुन्दरता त देखिन सक्छ, तर निर्णय केन्द्रिकरण, शक्ति नियन्त्रण, विचारविमर्श संरचना र आन्तरिक राजनीति चक्र उस्तै रहनेछ ।

नेपालको चुनावी मनोविज्ञान अहिले पुरानै अनुहार होइन नयाँ पुस्ताको भावना, नयाँ शैली, कामको उर्जा र पुनर्संरचना गर्न सक्ने विश्वसनीय छवि खोजिरहेछ । त्यस्तो समय एमालेले वास्तविक पुस्ताअन्तर गर्न सक्थ्यो, तर एमाले पुनः ‘सुरक्षित संक्रमण’ को बाटोमा उभिएको छ । जसले एमालेलाई केही संगठनात्मक स्थीरता त दिन सक्छ, तर निर्वाचनको समयमा पुनस्र्थापित गर्न सक्दैन ।
यसैले एमाले भित्रको नेतृत्व परिवर्तन कि ईश्वर पोखरेलतिर होस्, कि विद्या भण्डारीतिर दुवै एमालेलाई मूलतः नयाँ बनाउने, युवा पुस्तालाई आकर्षित गर्ने वा एमालेको खस्कँदो परिस्थितिलाई रोक्ने रुपान्तरणकारी शक्ति जस्तो देखिँदैन । एमालेको सांगठनिक, मानसिक तथा पुस्ताजन्य संकट यथावत् रहन्छ ।

त्यसैले एमालेको नेतृत्व परिवर्तनलाई अहिले धेरैले व्यङ्ग्यात्मक रूपमा बुझ्छन् ‘सापनाथ हटाएर नागनाथ ल्याएजस्तै ।’ परिवर्तन नाममा अनुहार बदलिन्छ, तर सोच, शैली, शक्ति–संरचना र एमालेको राजनीतिक भविष्य उही ठाउँमा अड्किन्छ । एमालेले यदि यही मोडेललाई निरन्तरता दियो भने एमालेको खस्कँदो अवस्था अझ व्यापक, गहिरो र अन्ततः पुनस्र्थापित हुन नसक्ने बन्न सक्छ ।