संरक्षण शिक्षा कार्यक्रममा सहभागी विद्यार्थीहरु ।

हेटौंडा : वन्यजन्तु र मानवबीचको द्वन्द्व न्यूनीकरण गर्नका लागि विद्यालयका बालबालिकालाई संरक्षण शिक्षा प्रदान गरिएको छ । मकवानपुरको मनहरी गाउँपालिका–४, मसिनेस्थित पशुपतिनाथ माविका विद्यार्थीलाई पर्सा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको टोलीले संरक्षण शिक्षा प्रदान गरेको हो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष माधव गौतमको अध्यक्षता तथा मध्यपृतना मुख्यालयका पृतनापति कर्णेल सरोज कोइरालाको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । कार्यक्रममा पर्सा वन्यजन्तु आरक्ष मध्यवर्ती क्षेत्र लामिटार सेक्टर गणबाट गणपति पूर्णचन्द्र अर्याल, मनहरी–४ का वडाअध्यक्ष प्रकाश थापा, विद्यालयकी प्रधानाध्यापक सपना लामा, विव्यस पूर्वअध्यक्षद्वय पवन खडका र बालमुकुन्द ढकाल, विद्यालयका अभिभावकहरु र विद्यार्थीको उपस्थिति रहेको थियो ।

कार्यक्रममा लेफ्टीनेन्ट नीराजन केसीले राष्ट्रिय निकुञ्ज, वन जङ्गल, जनावर तथा प्राकृतिक सम्पदाको महत्व, निकुञ्जसम्बन्धी नेपालको कानुन, जङ्गली जनावरको आक्रमणबाट बच्ने उपाय र नेपाली सेनाको भूमिकाको बारेमा विस्तृतरुपमा प्रष्ट पार्नुभएको थियो । पशुपतिनाथ मावि पर्सा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा रहेको विद्यालय हो र यो विद्यालय वरपर हरेक वर्ष जंगली जनावर हात्ती, गैंडा, बाघ, चितुवा आएर स्थानीयलाई दुख दिने गरेको छ ।