हेटौंडा : हेटौंडा–४ स्थित पाञ्चायन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । शनिबार संस्थाका कार्यबाहक अध्यक्ष रितबहादुर खाती क्षेत्रीको सभाध्यक्षतामा संस्थाको आफ्नै सभाहलमा कार्यक्रम सम्पन्न भएको हो ।

साधारणसभामा संस्थाका कोषाध्यक्ष विज्ञान रिमालले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभयो । संस्थाले आर्थिक वर्ष २०८१/०८२ मा २७ लाख ३७ हजार १ सय २८ रुपैयाँ नाफा गरेको छ । ७ सय ६० जना शेयर सदस्य भएको यस सहकारीको शेयर पुँजी १ करोड ७४ लाख ८५ हजार २ सय रुपैयाँ रहेको छ भने बचत तथा निक्षेप ४ करोड ७८ लाख ५९ हजार ५ सय ५८ रुपैयाँ रहेको छ । संस्थाले ९ करोड ३ लाख ५२ हजार ७७ रुपैयाँ ऋण लगानी गरेको छ ।

संस्थाको वार्षिक साधारणसभाको अवसरमा असल ऋणीको रुपमा घनश्याम क्षेत्री, असल बचतकर्ताका रुपमा निर्मलकुमार गोले र बाल बचतकर्ता सम्मान्नबाट विशेषता न्यौपाने सम्मानित भएका हुन् । यसैगरी, ज्येष्ठ नागरिक सम्मान्नबाट जसोदा रिमाल सम्मानित भएका छन् । कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष लक्ष्मीभक्त घिसिङको प्रमुख आतिथ्य र शेयर सदस्यहरुको उपस्थिति रहेको थियो ।