हेटौंडा : हेटौंडा–४, पारिजातपथस्थित शिशिर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । शनिबार संस्थाको आफ्नै सभाहलमा सेयर सदस्य इन्द्रलाल थिङको सभाध्यक्षतामा साधारणसभा सम्पन्न भएको हो ।

गत आर्थिक वर्ष २०८१/८२ मा ९ सय ९३ जना शेयर सदस्य रहेको संस्थामा चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्ममा शेयर सदस्यहरुको संख्या १ हजार ३७ जना पुगेको साधारणसभा जानकारी गराइएको छ । हाल संस्थामा आवद्ध ऋणीको संख्या २ सय ४७ जना रहेको छ । गत आर्थिक वर्ष २०८१/८२ मा १ करोड ९ लाख ४६ हजार ८ सय ९१ रुपैयाँ रहेको शेयर पुँजी कात्तिक मसान्तसम्म आइपुग्दा १ करोड १८ लाख १३ हजार ८ सय ६६ रुपैयाँ पुगेको छ ।

आर्थिक वर्ष २०८१/८२ मा संस्थाले ३ करोड ९८ लाख २२ हजार ५ सय ४७ रुपैयाँ ऋण लगानी गरेको थियो । सोही अवधिमा संस्थाले ४ करोड ८९ लाख १५ हजार ९ सय ४३ रुपैयाँ बचत संकलन गरेको जनाएको छ । संस्थाको कुल पुँजी तथा दायित्व ५ करोड ५५ लाख ७९ हजार ८ सय ८८ रुपैयाँ रहेको छ ।

साधारणसभाको अवसरमा उत्कृष्ट कर्मचारीको रुपमा बजार प्रतिनिधि ललिता मोक्तान भोलन सम्मानित हुनुभएको छ । यसैगरी, असल बचतकर्ताका रुपमा रेणु तामाङ, असल ऋणीको रुपमा कुमार लामा, बाल बचतकर्ताको रुपमा सुप्रिम मोक्तान र ज्येष्ठ नागरिक सम्मानबाट मुरहत पाठक र चिर्चमाया तामाङ नगदसहित सम्मानित हुनुभएको छ ।