हेटौंडा : हेटौंडा–२ स्थित ग्रामीण बहुउद्देश्यीय सहकारी संस्थाको २६ औं साधारणसभा शनिबार सम्पन्न भएको छ । कार्यक्रममा संस्थाले वार्षिक प्रतिवेदनमार्फत् संस्थाको शेयर पुँजी २ करोड २२ लाख २२ हजार रुपैयाँ रहेको जानकारी दिएको छ ।
सहकारी संस्थाले ९ करोड १७ लाख ७३ हजार रुपैयाँ कर्जा लगानी गरेको संस्थाका कोषाध्यक्ष राजेन्द्रप्रसाद पुडासैनीले जानकारी दिनुभयो । शनिबार सम्पन्न साधारणसभाबाट संस्थाले सदस्यको देहान्त भएको समयमा सदस्यको परिवारलाई राहत दिने उद्देश्यले राहतकोष खडा गर्नका लागि कार्यविधिसमेत पारित गरेको छ । कार्यक्रममा संस्थाका असल ऋणी तथा असल बचतकर्ताहरुलाई पुरस्कृत गरिएको छ । संस्थाका ज्येष्ठ सदस्यहरु तथा एसईईमा उत्कृष्ट नतिजा प्राप्त गर्ने सदस्यका सन्तानहरुलाई समेत पुरस्कृत गरिएको छ । कार्यक्रममा संस्थामा उत्कृष्ट कार्यव्यवस्थापन गर्ने कर्मचारी तथा समितिका सदस्यलाई समेत पुरस्कृत गरिएको छ ।
संस्थाका अध्यक्ष राजु अधिकारीले एक वर्षभित्र आफूले प्राप्त गर्ने बैठकभत्ता ९ हजार ५ सय रुपैयाँमा त्यति नै रकम थपी १९ हजार रुपैया चन्द्रोदय मावि हेटौंडा–८ मा अध्ययनरत एक जना र प्रतिभा आधारभूत विद्यालय, सिक्रेनीमा अध्ययनरत एक जना विद्यार्थीलाई छात्रवृत्तिको रुपमा प्रदान गर्नुभएको छ । करिब २ हजार १ सय सदस्य रहेको सहकारीको मकवानपुर जिल्लाभर कार्यक्षेत्र रहेको छ । संस्थाका अध्यक्ष अधिकारीको सभाध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख ललित घलानको प्रमुख आतिथ्य रहेको थियो । राष्ट्रिय सहकारी बैंकका शाखा प्रमुखको विशिष्ट आतिथ्य रहेको कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष कृष्णप्रसाद पुडासैनी, निवर्तमान अध्यक्ष प्रतिमा श्रेष्ठलगायत संस्थाका पदाधिकारीहरुको सहभागिता थियो ।










