हेटौंडाः अभिभावककले बालबालिकामाथि पर्याप्त निगरानी नराख्दा अनलाइनमार्फत् हुने बालयौन शोषणका घटनामा कमी आउन नसकेको सरोकारवालाहरुले बताएका छन् । सिविन नेपालको आयोजनामा शनिबार हेटौंडामा भएको इन्टरनेटमा हुने बालयौन शोषणसम्बन्धी इन्टरनेट प्रदायक संस्थाहरु एवम् अन्य सरोकारवालाहरुसँगको एक दिने कार्यशालामा सहभागीहरुले बालबालिकाले डिजिटल सामग्री प्रयोग गर्दा सर्वप्रथम अभिभावकहरुले पर्याप्त निगरानी राख्नुपर्ने बताएका हुन् ।

पछिल्लो समय साइबर अपराधका घटनामा सम्बद्ध व्यक्तिहरुमध्ये करिब ४४ प्रतिशत विद्यार्थी रहेको साइबर ब्युरोको तथ्याङ्क आइरहँदा बालबालिकाबाटै बालबालिकाहरु पीडित भइरहेको तथ्यसमेत उजागर गरिएको थियो । कार्यक्रममा अभिभावकसहित विद्यालय, क्याम्पस र स्थानीय सरकारले समेत जनचेतनामूलक कार्यक्रम नगरे समस्याले विकराल रुप लिनसक्ने आँकलन सहभागीहरुले गरेका छन् । घटनामा परेपछि कसरी कानुनी उपचार पाउन सकिन्छ भन्ने विषयमा कार्यक्रममा छलफल भएको थियो । कार्यक्रममा सहजीकरण गर्दै इन्टरनेट सेवाप्रदायक एसोसियसन (आइएसप्यान) का कार्यकारी निर्देशक सुवास खड्काले इन्टरनेट प्रदायक संस्थाहरुले इन्टरनेटबाट हुनसक्ने बालबालिकामाथिका असर पार्ने यौनजन्य वा अन्य हिंसाजन्य सामग्री वा पेजहरुमाथिको नियन्त्रण पद्धतिबारे सहजीकरण गर्नुभएको थियो ।

कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाको महिला, बालबालिका तथा समावेशी महाशाखा प्रमुख बिष्णुकुमारी लामिछाने, सिविन नेपाल हेटौंडाका संयोजक झविन्द्र ज्ञवालीलगायत मकवानपुर तथा चितवन जिल्लामा रहेका इन्टरनेट सेवाप्रदायक संस्थाहरु, हेटौंडा उपमहानगरपालिकाभित्रका बाल क्लब तथा युवा समूह र सामुदायिक विद्यालयका शिक्षकहरुको सहभागिता थियो ।