हेटौँडा: पछिल्लो दुई वर्षयता मकवानपुरमा घरेलु हिंसामा परेको भन्दै कानूनी उपचारमा आउनेको संख्यामा क्रमशः कमि आएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरको तथ्याङ्कले घरेलु हिंसामा कमि आएकोतर्फ इङ्गित गरेको हो ।
जिल्लामा चालु आर्थिक वर्षको ५ महिनामा १ सय ११ जनाले घरेलु हिंसामा परेको भन्दै निवेदन दिएका छन् । अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा २ सय ७७ जनाले घरेलु हिंसाबिरुद्धको कानूनी उपचार खोज्दै जिल्ला प्रहरी कार्यालय आएका थिए । यस्तै अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा ३ सय ८ जना महिलाहरु घरेलु हिंसा बिरुद्धको कानूनी उपचारमा आएका जिल्ला प्रहरी कार्यालय मकवानपुरको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रकी प्रमुख प्रहरी सहायक निरीक्षक नन्दकला टमाटा बताउनुहुन्छ । अघिल्ला वर्षहरुमा सम्बन्ध–बिच्छेदका लागि पनि घरेलु हिंसाको रुपमा कानूनी उपचार खोज्ने परिपाटीका कारण पनि २ वर्षअघिको संख्या बढी र क्रमशः घट्दै आएको उहाँले बताउनुभयो । उहाँका अनुसार जबर्जस्ती करणीको घटनामा पनि कमि आएको छ । चालु आर्थिक वर्षको डिसेम्बर १० सम्म अर्थात बुधबारसम्म २१ जना महिलाहरु जबर्जस्ती करणीको घटनामा परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरको तथ्याङ्क छ । अघिल्लो आर्थिक वर्ष ४१ जना महिलामाथि जबर्जस्तीकरणी भएको र त्यसअघिको वर्ष ५४ जना महिला जबर्जस्तीकरणीको शिकार भएको जिल्ला प्रहरीले जनाएको छ ।
यस्तै बाल यौन दुरुपयोगमा पनि यस वर्ष ३ जना बालिकाहरु पीडित भएका छन् । अघिल्लो वर्ष बाल यौन दुरुपयोगमा १२ जना बालिकाहरु परेका थिए । घरेलु हिंसा पीडितहरु अधिकांश परिवार र विशेषगरि श्रीमानबाट पीडित हुने गरेको प्रहरीले जनाएको छ । यस्तो हिंसामा कमि ल्याउन मकवानपुर प्रहरीले विभिन्न संघसंस्थासँगको समन्वयमा तनाव व्यवस्थापन, बाल अधिकार, बाल यौन दुव्र्यहार, लागू औषधी दुव्र्यसनी सम्बन्धी, महिला हिंसा न्युनीकरण, किशोरी संवाद, सामाजिक कुप्रथा न्युनीकरण, साइबर अपराध लगायत विविध छलफल, अन्तरक्रिया तथा शिविर, जनचेतनाका लागि पर्चा पम्प्लेट इत्यादिमार्फत प्रचार–प्रसारको कार्यक्रम समेत सञ्चालन गरिएको छ ।
चालु आर्थिक वर्षमा घरेलु सहित विभिन्न हिंसाको शिकार भई हेटौँडा अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसिएमसि) मा पनि गत साउनदेखि कात्तिक मसान्तसम्म उपचार सेवा लिने ७७ जना रहेका छन् । ७७ जनामध्ये २७ जना जबर्जस्तीकरणीमा परेका पीडित रहेको केन्द्रले जनाएको छ । यस्तै ७ जना अन्य यौनजन्य हिंसामा परेर उपचार गराएका थिए भने १५ जना शारीरिक हिंसामा परेर सेवा लिन आएका केन्द्रकी सम्पर्क व्यक्ति अमृता श्रेष्ठले जानकारी दिनुभयो । अघिल्लो वर्ष यस केन्द्रमा २ सय ८७ जना पीडितले उपचार सेवा लिएका थिए । सो भन्दा अघिल्लो वर्ष २ सय ९४ जनाले सो केन्द्रमार्फत उपचार सेवा पाएका थिए । यसअघिको वर्ष झनै ३ सय २३ जना विभिन्न हिंसा पीडित महिलाहरु उपचार सेवा लिन आएको केन्द्रको तथ्याङक छ । पछिल्लो समय अञ्जान व्यक्तिभन्दा पनि संरक्षकबाट नै बालिकाहरुमाथि जबर्जस्तीकरणीका घटनाहरु हुने क्रम बढेको समेत सम्पर्क व्यक्ति श्रेष्ठले जानकारी दिनुभयो ।
नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म अन्तर्राष्ट्रिय रुपमा मनाइने लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान बुधबारदेखि सकिएको छ । यो अभियानमा हिंसाबाट पीडित पुरुषहरुबारे पनि जानकारी दिइएको थियो । यस वर्ष जिल्ला प्रहरी कार्यालयको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रमा १ सय ११ जना घरेलु हिंसा पीडित कानूनी उपचारका लागि आँउदा ती मध्ये १५ जना पुरुषहरु पनि रहेको मकवानपुर प्रहरीले जनाएको छ । उनीहरु विशेषगरि श्रीमतीबाट मानसिक यातना तथा शारीरिक हिंसाका घटना लिएर आएका छन् । यस्तै श्रीमती तथा श्रीमतीको परिवारबाट हिंसा पीडित भएका ३ जनाले साउन यता हेटौँडा अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसिएमसी) मार्फत उपचार गराएका छन् । केही वर्ष अघिसम्म कानूनी तथा उपचार सेवा लिन महिलाहरु मात्र आउने गरेकोमा पछिल्ला समय पुरुषहरु पनि घरेलु हिंसाको शिकार भएकोमा पुरुषहरु पनि कानूनी तथा स्वास्थ्य उपचारका लागि खुलेर आउन थालेको सरोकारवालाहरु बताउँछन् ।
यसैबीच लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियानको अन्तिम दिन बुधबार हेटौँडाको बसपार्कमा सडक नाटक प्रस्तुत गरिएको छ । नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म मनाइने अभियानको अन्तिम दिन हेटौँडा बसपार्कमा नाटक ‘ट्वाक ट्वाक’ प्रस्तुत गरिएको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरको आयोजना तथा सामुदायिक प्रहरी सेवा उपकेन्द्र बसपार्कको समन्वयमा हिंसा बिरुद्धका नाटकहरु प्रस्तुत गरिएको थियो । झल्झली मल्टिक्रियसन हेटौंडाको प्रस्तुती रहेका २ वटा नाटकहरु कार्यक्रममा प्रस्तुत गरिएको थियो । कार्यक्रममा सामुदायिक प्रहरी सेवा उपकेन्द्र बसपार्कका प्रहरी सहायक निरीक्षक सन्त कुमार लामा, जिल्ला प्रहरी कार्यालय मकवानपुरकी प्रहरी हवल्दार लालुमाया गुरुङका साथै मानव अधिकार संरक्षण तथा मानव बेचबिखन बिरुद्धको सञ्जाल, मकवानपुर महिला उत्थान समाज, हिमराइट्स नेपाल, साना हातहरु नेपाल लगायतका गैरसरकारी संस्थाका प्रतिनिधीहरुको उपस्थिति थियो ।










