शल्यक्रिया पश्चात खिचिएको तस्वीर ।

हेटौँडा : मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा मोतियाविन्दुका बिरामीको निःशुल्क शल्यक्रिया सम्पन्न भएको छ । गाउँपालिकाको आयोजना तथा हेटौँडा सामुदायिक आँखा अस्पताल र रोटरी क्लब अफ हेटौँडाको प्राविधिक सहयोगमा शनिबार शल्यक्रिया गरिएको गाउँपालिकाका जनस्वास्थ्य निरीक्षक अमरेन्द्र राउतले जानकारी दिनुभयो ।

इन्द्रसरोवर–३, कुलेखानीस्थित पञ्चकन्या माध्यमिक विद्यालयमा शिविर सञ्चालन गरी शल्यक्रिया सेवा प्रदान गरिएको हो । जनस्वास्थ्य निरीक्षक राउतका अनुसार शिविरमा ५९ जना विरामीको निःशुल्क मोतियाविन्दुको शल्यक्रिया गरिएको हो । जसमध्ये दुवै आँखा समस्या भएको दुई जनाको शल्यक्रिया सफल भएको उहाँले जानकारी दिनुभयो । गाउँपालिकाले यसअघि हेटौँडा सामुदायिक आँखा अस्पताल र रोटरी क्लब अफ हेटौँडाकै सहयोगमा गत मंसिर २ गतेदेखि १० गतेसम्म पालिकाभरि निःशुल्क आँखा परीक्षण शिविर सञ्चालन गरेको थियो । उक्त परीक्षणका क्रममा मोतियाविन्दु पहिचान भएका बिरामीहरूको शनिबार शल्यक्रिया गरिएको हो ।

बिरामीहरूको यातायात, खाना तथा बसोबासको सम्पूर्ण खर्च गाउँपालिकाले नै व्यहोरेको छ । शल्यक्रिया पश्चात आइतबार गाउँपालिका अध्यक्ष देवकृष्ण पुडासैनी र उपाध्यक्ष उमा कुमारी लामाले बिरामीहरूको आँखाको पट्टी खोलेर बिदाई गर्नुभएको थियो । जनस्वास्थ्य निरीक्षक राउतका अनुसार गाउँपालिकाले विगत ३ वर्षदेखि निरन्तर रूपमा निःशुल्क आँखा शिविर सञ्चालन गर्दै आइरहेको छ । गाउापालिकाको यस अभियान अन्तर्गत वि.सं. २०८० सालमा ६४ जना, २०८१ सालमा ४४ जना र यो वर्ष ५९ जनाले सेवा प्राप्त गरेका छन् ।