सडक डिभिजन कार्यालय हेटौंडाले हेटौंडा बजार क्षेत्रमा सडक सीमाभित्र निर्माण भएको संरचनामा डोजर चलाएको छ । हेटौंडा बजार क्षेत्र भएर गएका महेन्द्र राजमार्ग र त्रिभुवन राजपथ राष्ट्रिय राजमार्ग कायम भएको छ । सडक ऐनले राष्ट्रिय राजमार्गको दायाँ–बायाँ २५–२५ मिटर सडकको क्षेत्राधिकार कायम गरेको छ । अझ महेन्द्र राजमार्गलाई अन्तर्राष्ट्रिय मापदण्डको एसियन हाइवेको रुपमा विकास गर्ने क्रम चलिरहेको छ । यस्तो अवस्थामा राजमार्गको दायाँ–बायाँ २५–२५ मिटर सडकको क्षेत्राधिकार कायम भएको भन्दै सडक सीमाभित्रका घर टहरा खाली गराउन डिभिजन सडक कार्यालय हेटौंडाले धेरै पटक सूचना जारी गरे पनि काम हुन सकेको थिएन । गत मंसिर ५ गते १५ दिनको समयसीमा दिएर सूचना निकालेको डिभिजन सडक कार्यालयले सयमसीमा सकिएकै दिन बिहानैबाट काम सुरु गर्यो।
यसपटक डिभिजन सडक कार्यालयले सडक सीमाभित्रका अस्थायी स्थायी संरचना भत्काउने धेरैको अनुमान थियो । सडक सीमाभित्रका घर टहरा हटाउनका लागि दुई साताअघि भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङ, मन्त्रालयका सचिव, सडक विभागका महानिर्देशक हेटौंडा आएको मौकामा सडक विस्तारका बारेमा छलफल भयो । छलफल भएको भोलिपल्टै सडक डिभिजनले सूचना निकाल्यो । त्यतिबेलै यस पटक सडक सीमा खाली गरेर सडक विस्तारको काम अघि बढ्ने सम्भावनाको सूत्रपात भएको थियो । सूचना निकालेको दिनबाटै डिभिजन सडकले स्थानीय प्रशासनसँगको समन्वय र सहकार्यमा आवश्यक तयारी सुरु गर्यो । सडक डिभिजनको अभियानलाई स्थानीय सरकार, प्रशासन र सरोकारवाला अन्य सरकारी निकायले साथ दिए । हेटौंडा बजार क्षेत्रका घर टहरा जोगाउन विगतमा जस्तै प्रयत्न भए पनि एकपछि अर्को प्रयत्न विफल बन्दै गयो र समयसीमा सकिएसँगै सडक सीमाभित्रका घरटहरा भत्काउन थालियो ।
सडक सीमाभित्र घरजग्गा हुनेहरुलाई यस अभियानले दुःख र पीडा दिएको छ । दशकौंमात्र होइन, पुस्तौँदेखि भोगचलन गर्दै आएको र राम्रो आर्थिक लाभ लिइरहेको संरचना भत्कनुका साथै सधैँका लागि गुम्ने अवस्थामा पुग्नु पीडादायी हो । सडक विस्तारका काम अघि बढ्दा यसबाट पीडित हुनेको बारेमा सरकारले सोच्नुपर्छ र सोच्ला पनि । सरकारले चाह्यो भने २५–२५ गजभित्र घरजग्गा हुनेले क्षतिपूर्ति वा मुआब्जा पाउन सक्छन् । किनकि सरकारको लागि असम्भव केही पनि छैन भन्ने कुरा त एकैदिन लगभग सबै घर टहरामा डोजर पुर्याएर सरकारले प्रमाणित गरेकै छ । कानुनको पालना गर्ने क्रममा सरकारले कानुनी कमजोरीमाथि टेकेरै भए पनि सडक विस्तार अभियान सुरु गरेबाट सरकारको शक्ति प्रमाणित भएको छ ।
दशकौंदेखि चर्चा र विवाद बनिरहेको हेटौंडा बजार क्षेत्रको सडक विस्तारको काम यसपटक सुरुवात भएको छ । शनिबार सडक डिभिजनले सुरक्षा घेराभित्र रहेर एकै दिन दुई सयभन्दा बढी घर टहरामा डोजर चलाउँदै सडक सीमा खाली गराउने काम सुरु गरेको हो । यो सुरुवातमात्र हो । यत्तिकैमा सडक सीमा खाली भइहाल्ने र सडक विस्तारको काम अघि बढिहाल्ने अवस्था पक्कै बन्दैन । सडक सीमाभित्रका सबै संरचना हटाउन महिनौं लाग्नेछ भने सडक विस्तारको काम सम्पन्न हुन वर्षौं लाग्ने निश्चित छ । अहिलेको चासो भनेको डोजरले कोतरेर बाँकी रहेको संरचना कहिले, कसले र कसरी हटाइन्छ ? यसका लागि सम्बन्धित घरधनीबाटै भत्काएर सडक सीमा खाली गराउन सरकारले थप दबाबमूलक अभियान चलाउँछ कि बाँकी संरचनामा पनि डिभिजन सडकले डोजर चलाउँछ ? भन्न सकिने अवस्था छैन ।










