हेटौँडा : शुक्रबहादुर र हरिमाया प्रजा चितवन राप्ती नगरपालिका–११, पदमपुरका स्थायी बासिन्दा हुन् । दुबै आँखा गुमाएका शुक्रबहादुर र एउटा आँखा गुमाएकी हरिमाया ३ वर्षदेखि कष्टकर जीवन बाँचिरहेका थिए । ५ छोरा र १ छोरीका पिता शुक्रबहादुरको परिवार अति विपन्न छ । सधैंलाई आफ्नो उज्यालो संसार सकिएको ठानेका शुक्रबहादुरले रोटरी क्लब अफ हेटौँडाको निःशुल्क आँखा परीक्षण र शल्यक्रिया कार्यक्रममा सहभागी भएर उपचार पाए ।
अस्ट्रेलियाको तास्मिनियास्थित रोटरी डिस्ट्रिक्ट ९८३० का पूर्व गभर्नर केबिन स्याडबोल्ट र उहाँकी धर्मपत्नी एनी स्याडबोल्ट शुक्रबहादुर र हरिमाया प्रजाको उपचारका लागि सहयोगी भएर नेपाल आए । उज्यालो संसारमा फर्किएका शुक्रबहादुर प्रजाले खुसीको आँसु झारे । अन्तर्राष्ट्रिय रोटरी संस्था अस्ट्रेलिया तास्मिनियाले वर्षेनी रोटरी क्लब अफ हेटौँडालाई निःशुल्क आँखा शिविरका लागि रकम सहयोग गर्दै आएको छ । रोटरी क्लब अफ हेटौँडाले आफ्नो प्रमुख कामको रुपमा वृहत निःशुल्क आँखा शिविरहरु प्रत्येक वर्ष संचालन गर्ने गरेको छ ।
रोटरी क्लब अफ हेटौंडाले वर्ष २०२५।२६ को पहिलो निःशुल्क वृहत आँखा शिविर सम्पन्न गरेको छ । पूर्वी चितवनको खैरहनी–९, वानग्रुप, सर्लाही जिल्लाको हरिवन–६ को घुर्कौली र मकवानपुरको मनहरी गाउँपालिका–९ ज्यामिरेस्थित श्रीकृष्ण प्रणामी मन्दिरमा आयोजित वृहत आँखा शिविरमा ७ सय ३३ जनाको आँखा परीक्षण गरिएको थियो । जसमध्ये १ सय १ जना मोतीविन्दुका रोगी पहिचान भएका थिए । मोतियाविन्दु पहिचान गरिएकाहरुमध्ये ७२ जनाको हेटौँडा सामुदायिक आँखा अस्पतलमा निःशुल्क शल्यक्रिया (अप्रेसन) गरी चश्मा वितरण गरिएको रोटरी क्लब अफ हेटौँडाका पूर्व अध्यक्ष तथा यस वर्षका आँखा शिविर संयोजक रामप्रसाद शर्माले बताउनुभयो ।










