हेटौँडा: मकवानपुरको मनहरी गाउँपालिका–४, मसिनेमा रहेको पशुपतिनाथ माध्यमिक विद्यालयले स्वर्ण जयन्ती मनाएको छ । विद्यालयले साताव्यापी कार्यक्रमको आयोजना गर्दै सोमबार स्वर्ण जयन्ती मनाएको विद्यालयकी प्रधानाध्यापक सपना लामाले जानकारी दिनुभयो ।
विद्यालयले स्वर्ण जयन्तीको अवसरमा साप्ताव्यापी कार्यक्रमअन्तर्गत मंसिर ८ गते इसीडीका बालबालिकालाई बेलुन फुटाई, कक्षा १ का विद्यार्थीलाई चकलेट दौड, कक्षा २ का विद्यार्थीलाई गुच्चा चम्चा दौड र कक्षा ३ का लागि बोरा दौड सञ्चालन गरेको थियो । यस्तै ९ गते कक्षा ४ का विद्यार्थीलाई म्युजिकल चेयर, कक्षा ५ का विद्यार्थीलाई बेलुन डान्स र कक्षा ६ का विद्यार्थीलाई तीन खुट्टे दौड सञ्चालन गरिएको थियो । यस्तै १० गते कक्षा ७ का विद्यार्थीलाई गणित दौड र कक्षा ८ का विद्यार्थीलाई अफ ट्र्याकल दौड सञ्चालन गरिएको थियो भने ११ गते कक्षा ९ का विद्यार्थीलाई इन आउट र कक्षा १० का विद्यार्थीलाई घ्याम्पो फुटाई प्रतियोगिता सञ्चालन गरिएको थियो ।
विद्यालयले पालिकाभित्र रहेका संस्थागत र सामुदायिक विद्यालयबीच छात्र भलिबल प्रतियोगिताको आयोजना गरेको थियो । पालिकामा संस्थागत र सामुदायिक गरी १३ वटा माध्यमिक विद्यालय रहेपनि ६ वटा विद्यालयबाट मात्रै प्रतियोगितामा भाग लिएका थिए । भलिबलमा मनहरी–५ बसन्तपुरमा रहेको भोजसिद्धि मावि प्रथम भएको छ भने पशुपतिनाथ मावि द्वितीय भएको छ । प्रतियोगितामा प्रथम हुनेलाई २५ हजार र द्वितीय हुनेलाई १५ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र गरिएको थियो ।
साप्ताव्यापी कार्यक्रम अन्तर्गत रहेर विद्यालयले सदनगत छात्रा भलिबल, हाजिरीजवाफ र वक्तृत्वकला प्रतियोगिता पनि सञ्चालन गरेको थियो । भलिबल प्रतियोगितामा अन्नपूर्ण (सेतो सदन) प्रथम भएको थियो भने माछापुच्छ्रे (पहेँलो सदन) द्वितीय भएको थियो । उनीहरूलाई मेडल प्रदान गरिएको प्रधानाध्यापक लामाले जानकारी दिनुभयो । हाजिरी जवाफमा अन्नपूर्ण (सेतो सदन) प्रथम भएको छ भने माछापुच्छ्रे (पहेँलो सदन) द्वितीय भएको छ । सेतो सदनमा इरानी थापा, इब्रन थापा र अनिता तामाङ रहनुभएको थियो भने पहिलो सदनमा सिरिसा प्रजा, रोशनी बर्तौला र एस्थर रुम्बा रहनुभएको थियो । वक्तृत्वकला प्रतियोगितामा सेतो सदनबाट गुराँस वाइबा प्रथम, इरानी थापा द्वितीय र रातो सदनबाट संस्कृति प्रजा तृतीय हुनुभएको थियो ।
विद्यालयले आयोजना गरेको छात्र माध्यमिक विद्यालयस्तरीय भलिबल भन्दा बाहेक विद्यालयले आयोजना गरेको सबै खेलकुद कार्यक्रमहरू प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीलाई हेल्पको नेपालले स्टेशनरी सामान प्रदान गरेको छ भने विद्यालयले मेडल मात्रै प्रदान गरेको छ । साताव्यापी कार्यक्रमको उद्घाटनको दिनमा विद्यालयले अतिथिहरूलाई गुच्चा चम्चा दौड गराएको थियो । प्रतियोगितामा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष माधव गौतम प्रथम, पालिका अध्यक्ष रञ्जन कालाखेती द्वितीय र अभिभावक बाबु गौतम तृतीय हुनुभएको थियो ।
यस्तै विद्यालयले शिक्षकहरूलाई म्युजिकल चेयर र बेलुन डान्सको आयोजना गरेको थियो । म्युजिकल चेयरमा सजिना सिग्देल प्रथम, ज्योति थापा द्वितीय र बिमला बिष्ट तृतीय हुनुभएको थियो भने बेलुन डान्समा बिमला बिष्ट र सुमित्रा ढकाल प्रथम र ज्योति थापा र कलावती गौतम द्वितीय हुनुभएको थियो । शिक्षिकाहरूलाई विद्यालयले मेडल प्रदान गरेको थियो भने हेल्पकोड नेपालले पुरस्कार प्रदान गरेको थियो ।
विद्यालयले स्वर्ण जयन्तीको अवसरमा विद्यालयको स्थापनाकालदेखि हालसम्म विद्यालय व्यवस्थापन समितिको अध्यक्ष रहनुभएका र विद्यालयमा प्रअको जिम्मेवारी निभाउनुभएका शिक्षकहरूलाई पनि सम्मान गरेको थियो । स्वर्ण महोत्सवको अवसरमा विद्यालयमा राष्ट्रिय कलाकार बद्री पंगेनी र प्रतिमा अर्यालले साङ्गीतिक प्रस्तुति गर्नुभएको थियो । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष माधव गौतमको सभाध्यक्षता तथा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाको प्रमुख आतिथ्य रहेको थियो ।











