हेटौँडा : हेटौँडा उपमहानगरपालिका–४, कर्राचोकमा मोटरसाइकलको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत कर्राचोकमा बिहीबार साँझ ६ बजेर ३० मिनेटको समयमा पशुपतिनगरबाट हेटौँडा बजारतर्फ आउँदै गरेको ना ३८ प ५८५० नम्बरको मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिएको थियो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मोटरसाइकलको ठक्करबाट पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका–१६, नागुवा घर भई हाल हेटौँडा–१०, कर्रामा डेरा गरी बस्ने ५५ वर्षीया खुइली डोम गम्भीर घाइते भएकी थिइन् । उनलाई उपचारका लागि हेटौँडा अस्पताल लगिएकोमा उपचारको क्रममा साँझ ६ बजेर ५० मिनेटको समयमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ । मोटरसाइकल चालक बारा जिल्लाको सिम्रौनगढ नगरपालिका–११ का २५ वर्षीय सुनिल ठाकुरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।