अहिले मुलुकमा प्रतिनिधिसभा निर्वाचनको तयारी भइरहेको छ । जेनजी आन्दोलनपछि गठन भएको अन्तरिक सरकारले आगामी फागुन २१ गतेका लागि निर्वाचनको मिति घोषणा गरेका कारण निर्वाचन आयोगले आवश्यक तयारी गरिरहेको छ । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका कारण तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिन बाध्य भए । ओलीको राजीनामापछि राष्ट्रपति रामचन्द्र पौडेलले सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गरे । प्रधानमन्त्रीको सपथ खाएलगत्तै सुशीला कार्कीले प्रतिनिधिसभा (संसद) विघटनको सिफारिस गरिन् । राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेर फागुन २१ का लागि निर्वाचनको मिति तोकेपछि निर्वाचन आयोगले मतदाता नामावली संकलन गर्ने काम सकेको छ भने नयाँ दल दर्ताका साथै निर्वाचन प्रयोजनका लागि पुराना दल अद्यावधिक गर्ने काम भइरहेको छ ।
गत मंसिर ५ गतेसम्मका लागि म्याद थप गरेर संकलन गरिएको मतदाता नामावलीप्रतिको आकर्षणले मतदातामा उत्साह देखिएको छ । अघिल्लो निर्वाचनमा भन्दा यस पटक १० लाखभन्दा बढी मतदाता थपिएका छन् । साढे ८ लाखभन्दा बढी मतदाताले निर्वाचन घोषणा भएपछि नामदर्ता गराएका छन् । नयाँ थपिएका मतदातामा जेनजी पुस्ताको बाहुल्यता रहेकाले पनि निर्वाचनप्रति मतदाताको उत्साहलाई उजागर गरेको छ । २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा एक करोड ७९ लाख ८८ हजार ५७० जना मतदाता रहेकोमा अबको निर्वाचनमा मतदाताको संख्या एक करोड ९० लाख ५ हजार ३२४ पुगेको छ । थपिएका १० लाख १६ हजार ७५४ जना मतदाताले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभाको निर्वाचनमा पहिलोपटक मतदान गर्दैछन् ।
देशमा विद्यमान भ्रष्टाचार, बेथिति र सामाजिक सञ्जालमाथिको प्रतिबन्धको विरोधमा सुरु भएको जेनजी आन्दोलनले सत्ता परिवर्तनमात्र नभई संसद विघटनसम्मको परिणाम ल्यायो । आन्दोलनको भावनालाई आत्मसात गर्नका लागि नयाँ जनादेशमा जानैपर्ने बाध्यताबिच घोषणा भएको निर्वाचन तोकिएकै मितिमा हुने सुनिश्चितता बनिसकेको छैन । निर्वाचन आयोगले निर्वाचनका आवश्यक काम गरिरहेको छ । निर्वाचन कार्यक्रम सबै सार्वजनिक भइसकेको छ भने निर्वाचनका लागि आवश्यक सामग्री व्यवस्थापनको काम भइरहेको छ । थप भएका र पुरानो मतदाता नामावलीमा मृत्यु भएकाको नाम हटाउन, त्रुटि सच्याउन, गलत विवरणको विरोधमा उजुरी दिन र मतदाता नामावली स्थानान्तरणको आगामी मंसिर २१ देखि २७ गतेसम्म समय तोकिएको छ । पुस १५ गते अन्तिम मतदाता नामावली प्रकाशन भएपछि मतदान गर्नेको संख्या निश्चित हुनेछ ।
मताधिकार नै नागरिकको सबैभन्दा ठूलो शक्ति हो । नागरिकलाई सार्वभौमसत्ता सम्पन्न बनाउन आवधिक निर्वाचन र मताधिकार आवश्यक भएकाले प्राप्त मताधिकारको सदुपयोग गर्नु नागरिकको कर्तव्य पनि हो । संघीय लोकतान्त्रिक गणतन्त्रमा पनि अझै नागकिर अधिकार कुण्ठित हुनुका साथै चरम भ्रष्टाचार र बेथिति अन्त्यका लागि नागरिकले असल नेतृत्व चयनमा ध्यान दिनुपर्छ । अहिले जरी मतदाता नामावलीमा नाम दर्ता गर्न देखिएको उत्साह मतदान गर्ने समयमा पनि कायम रहनुपर्छ । स्वतन्त्र व्यक्तिहरु पनि उम्मेदवार बनेर निर्वाचनको प्रतिस्पर्धामा सहभागी हुन र चुनाव जित्न सक्ने भए पनि विद्यमान निर्वाचन प्रणालीले राजनीतिक दलको विकल्प राजनीतिक दललाई नै स्वीकार गरेको छ । हरेक मतदाताले सही व्यक्ति वा पार्टीका उम्मेदवारलाई मतदान गर्न सकेमा अहिले देखिएको उत्साहले सार्थकता पाउने सम्भावना रहन्छ ।











